Pages

Sunday, July 21, 2013

किरात वंश अधुरो कुरा



          नेपालका प्राचीन जातिहरु  मध्ये महत्वपूर्ण हैसियत राख्ने जाति किरात पनि एक हो । हालका राई लिम्बूहरु प्राचीन किरात जातिका शाखा सन्तान हुन् । यो जातिलाई प्राचीन पौराणिक ग्रन्थहरुले वीर लडाकु जातिका रुपमा लिएको पाईन्छ ।
यिनीहरु हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रुपमा पनि पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरुमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरुले सिमानामा बस्ने जाति वा आर्यहरुको सिमानमा राज्य गर्ने जातिहरु भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाईन्छ । जातिको रुपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रुपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।

बिक्रम जित हसरत तथा अन्य केही विद्धानहरुले किरात शब्दको उत्पत्ति भूमध्ये सागरीय क्षेत्रमा बोलिने मोवाइट भाषाको किरीयाट भन्ने शब्दबाट अपभ्रंश भई किरात भएको उल्लेख गरेका छन् । किरातहरुको मूल बेबिलोन भएको र यिनीहरु ईसापूर्व २४०० तिर आफ्नो मूलथलो छोडी मेसोपोटामिया तर्फ लागेको मानिन्छ । कतिपयले किरातहरुको उद्गमस्थल अफ्रिकालाई पनि मानेका छन् भने पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत किरातहरुको उद्गम स्थलका रुपमा कतिपय इतिहासकारले मानको  पाईन्छ । सामान्यतया हिन्दमहासागर र चीन आसपास क्षेत्रमा वसोवास गर्ने मानव नश्लको शारीरिक बनावट मिल्ने हुँदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको आसाम, नागाल्याण्ड, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने मंगोल जाति र नेपालको पूर्वी भागमा बसोबास गर्ने राई लिम्बू लगाएतका जनजातिहरुको शारीरिक बनावट एवं उद्गमस्थल एउटै रहेको अनुमान लगाउन सकिन्छ । इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरुलाई किरात कै शाखा मानेका छन् । किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार “मनाफेवामाङ” नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख भएको पाईन्छ भने नेपालको हकमा यिनीहरु बाहिरबाट नै नेपाल खाल्डोमा प्रवेश गरेका थिए ।
किरातहरुको नश्ल तथा उद्गम्स्थलका बारेमा मात्र नभई यिनीहरुको मानव समुह सम्बन्धका बारेमा पनि विवाद रहेको देखिन्छ । केही विद्धानहरुको दृष्टिमा यिनीहरु आर्य मूलका मानिएका छन् भने केही  विद्धानहरुको दृष्टिमा यिनीहरु अनार्य मूलका मानिएका छन् । अमरकोष लगाएतका धर्मग्रन्थहरुमा किरातहरुलाई “म्लेच्छ” मानिएको छ । महाभारत र मनुस्मृतिमा आर्य क्षेत्रिय मानिएको छ । स्वामी प्रपन्नाचार्यले किरात जाति आर्य समुदायकै भएको ठहर गर्दै उनीहरु तागाधारी हिन्दू भएको आफ्नो स्पष्ट अभिमत राखेका छन् । जे भएपनि आज किरातहरु सामान्यतय मङ्गोल परिवार भित्र कै मानिन्छन्  र वर्तमान किरातहरुको मातृभाषा पनि तिब्बती वर्मन परिवारको मानिएको छ ।
कुनै स्पष्ट प्रमाण नभएका कारण किरातहरुको ऐतिहासिकताका बारेमा यकिन भन्न सक्ने अवस्था छैन । एकथरी विद्धानहरु गोपालराज वंशावली, भाषावंशावलीहरु, पुराण एवं महाभारतमा उल्लेख भएको आधारमा मात्र सीमित भएर किरातहरुको बारेमा स्पष्ट एवं ठोकुवा गर्न नमिल्ने धारणा राख्छन् । यो समुहका विद्धानहरु यस कुराको पुष्टि गर्ने कुनै पनि पुरातात्विक स्रोतहरु प्राप्त नभएको र साहित्यिक सन्दर्भहरु कपोलकल्पित हुन सक्ने धारणा राख्दै किरात युग ऐतिहासिक युग नभई पौराणिक युग हो भनि मान्दछन् ।
उक्त धारणाका विपरीत अर्काथरी विद्धानहरु किरात कालका भनिएका कतिपय शाब्दिक अस्तित्व, लिच्छवि कालिन अभिलेखबाट प्राप्त संकेतहरु र ईशापूर्व का केही मूर्तिहरुको बनावट आदिलाई आधार मान्दै किरातकाल काल्पनिक नभई यथार्थ हुनसक्ने धारणा राख्दछन् । लिच्छवि कालिन अभिलेखमा उल्लेख भएका कुपासी (खोपासी), शङ्गा (सांगा), चङ्गु (चाँगु), तेङखु (टेकु), खोप्रिङ्ग (भक्तपुर), तेस्तुङ (टिस्टुङ) आदि नामवाचक शब्दहरु किरात शब्दहरु हुनसक्ने र लिच्छवि कालका केही प्रशासनिक ईकाइहरु मापचोक, कुथेर, शुल्ली र लिङग्वल जस्ता शब्दहरुले किरात कालिन जातीय तथा प्रशासनिक अस्थित्वलाई उजगार गर्दछन् । लिच्छवि राजा अंशुवर्माको हनुमानढोका अभिलेखमा किरात शब्द समेत देख्न सकिन्छ । पशुपतिको विरुपाक्ष मूर्तिको साक्षत रुप किरात आकार प्रकार झल्कने खालको हामी अहिले पनि देख्न सक्दछौं । यी यस्ता आधारहरुलाई मध्येनजरमा राख्दा किरात युग तथा सभ्यतालाई नेपालको ऐतिहासिक युग भन्न सकिन्छ । किनभने नेपालमा लिच्छवि भन्दा अगाडी किरातकालमा नै संगठित राज्य व्यवस्थाको जग बसिसकेको देखिन्छ । गोपाल र महिषपाल कालमा कृषि र पशुपालन जस्तो सभ्यताको सुरुवात भैसकेको र किरातकालमा आईपुग्दा राज्यव्यवस्थाको स्थिति संगठित भैसकेको देखिन्छ । किरातकालमा राजतन्त्रात्मक व्यवस्था अन्तर्गत बिभिन्न अड्डा अदालतको स्थापना, व्यापार, उद्योगधन्दा द्धारा संगठित आर्थिक ब्यवस्था र वैदेशिक सम्बन्धको सुरुवात समेत भएको बुझिन्छ ।
किरातहरुका बारेमा बिभिन्न पौराणिक ग्रथहरुमा उल्लेख भएतापनि यस जातिको उत्पत्ति, नेपाल खाल्डो माथिको अधिन, राज्यब्यवस्था एवं सभ्यताका बारेमा यथेष्टरुपमा विश्लेषण गरी निष्कर्षमा पुग्न सक्ने आधारहरु अहिले सम्म प्राप्त नभएका कारण यसै भन्न सक्ने अवस्था भने छैन् । गोपाल वंशावलीमा तामाकोशी र सुनकोशी बीचको भूभागमा बस्ने किरातहरुले महिषपालहरुलाई जिती नेपाल खाल्डोमा आफ्नो राज्य कायम गरेको उल्लेख पाईन्छ । भाषावंशावलीमा “म्लेच्छ” जातिका किरातीहरु पूर्वबाट महाप्रताप संग आई महिषपाल राजासंग युद्धमा जिती नेपालका राजा भया भनि उल्लेख गरेको र प्रथम किराती राजा यलम्वर भनी उल्लेख गरेका छन् । यी सबै आधारबाट महिषपाल वंशका अन्तिम राजा भुवनसिंहलाई पराजित गरी किरातहरुले आफ्नो राज्य स्थापना गरेको देखिन्छ । तर समयको भने कुनै श्रोतमा उल्लेख भएको पाईदैन । ईशापूर्व १२०० तिर किरातहरुबाट नेपाल खाल्डोमा आक्रमण गरिएको भन्ने अनुमान गरिएको छ ।
किरात शासकहरुको संख्या विभिन्न श्रोतहरुमा २४ देखि ३२ जना सम्म उल्लेख भएको पाईन्छ । ३२ जना शासकलाई प्रति शासक २५ वर्ष मानी हिसाब गर्दा यस शासन कालको अवधी ८०० बर्ष हुन आउँछ । यसबाट ४०० ईशापूर्व सम्म किरात काल रहेको हुनसक्छ । तर यो अनुमान भरपर्दो भने देखिदैन् किनभने ईस्वी सम्वत्को पहिलो शताब्दीमा मात्र लिच्छविहरुले किराती शासकलाई पराजित गरेको भन्ने भएबाट बीचको अवधि शासक बिहीन देखिन्छ । पक्कै पनि यो समय शासन बिहीन त थिएन नै, यस्तो देखिनुमा समयको यकिन हुन नसक्नु नै मुख्य कारण हो । इतिहासविद् केदारनाथ प्रधानले लिच्छवि कालको प्रारम्भ ४०० ईशापूर्व मान्नुपर्ने तर्क राख्दै किरातकालको अन्तिम समय ईशापूर्व ४०० मान्नुपर्ने तर्क राख्छन् । यस आधारमा किरात काल ८०० वर्ष, महिषपाल १०० वर्ष, र गोपाल काललाई ३०० वर्ष गरी १६०० ईशापूर्व देखि ४०० ईशापूर्व सम्मको काललाई दासकाल भनी अनुमान गर्नुपर्ने तर्क उनको छ ।
वंशावलीहरुमा सबैभन्दा पुरानो र विश्वासी मानिने गोपालराज वंशावलीले यलम्बर लगाएत ३२ जना किराती शासकहरुले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ । राइट वंशावलीले २८ जनाले १११८ वर्ष र कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको लेख्दछन् । के. पी. जयसवालले २८ जनाले ७०० वर्ष भनी उल्लेख गरेका छन् । भाषा वंशावलीले २८ जना, सिल्वाँ लेवीले २४ जना र इतिहास प्रकाशंमा २९ जनाले शासन गरेको देखाईएको छ तर शासन अवधीका बारेमा भने यिनीहरुले खुलाएका छैनन् । पहिलो किराती राजा यलम्बरलाई भाषा वंशावलीमा किरातेश्वर महादेवको अवतारका रुपमा मानिएको छ । राइट वंशावलीमा महाभारतको चर्चा गर्दै सातौं किराती राजा जितेदास्तीले महाभारतको युद्धमा भाग लिएको उल्लेख गर्दै उनको मृत्यू पनि सोही युद्धमा भएको चर्चा पाईन्छ । बौद्ध वंशावललीहरुमा सातौं किराती राजा जितेदास्तीको समयमा गौतम बुद्ध नेपाल खाल्डोमा आएको प्रसंग उल्लेख भएको पाईन्छ ।
राईट वंशावलीमा छैटौ किराती राजा हुमतीको समयमा अर्जुनको किरातेश्वरसँग युद्ध र वर प्राप्तीको कथा पाईन्छ । प्रमुख किराती राजामा चौंथो राजा स्थुंको नाम आउँछ । वंशावलीमा यिनको शासनकालमा सम्राट अशोकको आगमन भएको उल्लेख पाईन्छ । उनीले नेपाल खाल्डोमा आई आफ्नी छोरी चारुमतीको विवाह यहीका क्षेत्रिय राजकुमार देवपाल संग गरी किरातहरुको राजधानी पाटन शहरका चारकुना र बीच भागमा एक एक स्तूप बनाउँन लगाएका थिए । अन्तिम किराती राजा गस्तीको समयमा पश्चिमका सोमवंशी राजा निमिष टंकारले नेपाल खाल्डोमा आक्रमण गरी किरातहरुलाई पराजित गरे । यस पछि यो जाति क्रमसः पूर्वतर्फ लागेको अनुमान गर्न सकिन्छ । तर कर्कपेट्रिकले किरातहरुलाई पराजित गर्ने निमिस टंकारलाई सूर्यवंशी लिच्छवि मानेका छन् ।
सन्दर्भ सामाग्रीः— विभिन्न पौराणिक ग्रन्थ र  इतिहास दस्तावेज ।

0 comments:

Post a Comment